Showing posts with label अर्थ र पर्यटन. Show all posts

Tuesday, July 30, 2013

कृषिमा चितवन : सम्भावना र आवश्यकता

पछिल्लो समय परोपकारी पत्रकारिता अँगालिरहेका पत्रकार एकल सिलवालको चाख कृषिमा समेत बढ्दै गएको छ । उनी विगत १५ वर्षदेखि पत्रकारितामा क्रियाशिल पनि छन् । लामो समय पत्रकारिताबाट जीवन निर्वाह गरेका उनको पेशा पत्रकारितासंगै कृषि बन्ने तयारीमा छ । उनी भन्छन्,‘अबको भूमिकामा मैले पत्रकारितालाई सोख, धर्मलाई परोपकार र कृषिलाई मुख्य पेशा बनाउन लागिरहेको छु ।’ पत्रकार एकलले भनेजस्तै चितवनको माटोमा पनि अब कृषिले व्यवसायीकरणको बाटो लिंदैछ । धेरै मान्छे अब कृषिमा लाग्दैछन् । यो त भयो, उनको व्यक्तिगत पेशा । उनको एउटा सामाजिक संस्था पनि छ, मितेरी फाउण्डेशन । मितेरीले विपन्न वर्गको जीवनस्तर उकास्न पनि कृषिकै सहारा लिने तयारी गरेको छ । 
चितवनको लोथरबाट करिब ८ घण्टा पैदन हिंडेपछि कान्दा गाउँ पुग्न सकिन्छ । २०६७ जेठमा यहाँ विषालु च्याउ खाएर ८ जना चेपाङहरुको मृत्यू भयो । कस्तो च्याउ खान हुने या कस्तो नहुने भन्ने जानकारी नहुँदा चेपाङ वस्तीमा नै रुवावासी मच्चियो । आयस्रोत नहुँदा जंगली च्याउको भर पर्ने वाध्यता थियो । अहिले कान्दामा पत्रकार एकलकै सक्रियतामा कृषिमै आत्मनिर्भर हुने खालको अभियान लक्ष्मी प्रतिष्ठानको सहयोगमा मितेरीले ल्याएको छ । त्यहाँका चेपाङलाई ‘च्याउ होइन, स्याउ’ खुवाउन हरेकलाई स्याउ रोप्न लगाइएको छ । विस्तारै स्याउको विरुवा बढ्दैछ । विषालु च्याउ पनि नचिन्ने चेपाङहरु पोषिलो स्याउ कुरेर बसेका छन् । 
अन्नका रुपमा वनका भीरपाखा र खोरिया खोस्रेर थोरै मकै कोदो उव्जाउने कान्दाका चेपाङलाई स्याउले सफलता पायो भने धेरै चेपाङका लागि यो कृषि पेशा बन्न सक्छ । यही अभियानमा छन्, मितेरीका एकल र सिंगो मितेरी समूह । ‘च्याउ चेपाङलाई स्याउ चेपाङ’ बनाउन जुम्लाका बागवानी प्राविधिक श्रीबहादुर भण्डारीले कान्दाको हावापानी र माटोको मिहिन अध्ययन गरिसकेका छन् । कान्दामा जुम्लाकै जस्तो कालोमाटो रहेछ । जुम्ला स्याउकै लागि प्रसिद्ध छ । यसैले कान्दामा स्याउको सम्भाव्यता बोकेर त्यहाँ ५१५ स्याउका विरुवा लगाइएका छन् । अबको पाँच वर्षभित्र कान्दामा स्याउ फल्ने आशा गरिएको छ । चेपाङहरु आफ्नै हातले फलाएको स्याउ खान हतारिएका छन् । अनि यसलाई कृषि व्यवसाय बनाउने अभियानमा छन् ।
कान्दा जस्तै स्याउको सम्भावना भएको क्षेत्र चितवनमा धेरै छन् । चितवनका पहाडी गाविसमा यसको सम्भावना धेरै छ । किनभने समुद्री सतहबाट १६०० मिटरमाथि उचाइमा स्याउ फल्छ । चितवनका धेरै पहाडी गाविसहरु १६०० मिटर उचाइमै छन् । 
चितवनमा स्याउको सम्भावना रहेको कुरा चेपाङले विषालु च्याउ नखाइदिएको भए थाहा हुन्थेन । विषालु च्याउले चेपाङको ज्यान लिएपछि बल्ल त्यहाँ पत्रकार पुगे । अनि यसले संसारभर चर्चा पायो । एकल जस्तै मनकारी नेपालीहरु त्यो ठाउँमा पुगेर कृषिकै माध्यमबाट चेपाङहरुको जीवनस्तर उकास्न लागि परे । यस्तै चितवनको काउले पनि स्याउको लागि सम्भावना भएको क्षेत्र हो । यो पहाडी गाविसलाई पनि ‘कान्दाको हजुरबाउ’ भनेर चिन्छन्, स्थानीय वासिन्दाहरु । यहाँ पनि स्याउको सम्भावना छ । हात्तीवाङ लगायतका पर्यटकीय क्षेत्रमा स्याउ लगायतका वनस्पतिले किसानको जीवनस्तर उकास्न सकिन्छ भने त्यहाँ आउने पर्यटकहरुलाई लोभ्याउन सकिन्छ । यहाँ अहिले केही किसानहरु मिलेर इलामको जस्तै चियावारी बनाउने अभियानमा छन् ।
चितवनलाई ७६ औं जिल्लाको रुपमा लिने गरिन्छ । कृषिसंगै विभिन्न उद्यमशील उद्योगहरुको सम्भावना भएको क्षेत्र हो, चितवन । यहाँ रातोदेखि कालो माटोसम्ममा उव्जनी उव्जाउन सकिन्छ । अब पोल्ट्रीको राजधानीको रुपमा मात्रै चितवनलाई लिने दिन गए । कुनैबेला चितवन केका लागि प्रसिद्ध छ भन्दा सबैको उत्तर हुन्थ्यो,– तोरी । तर अहिले तोरी चितवनका गाउँगाउँ चाहारी चाहारी हिंड्नुपर्छ । यहाँ तोरी फलाउने किसान पाउन छाडियो । चितवनमा समथर भुभाग भएकाले तोरीको सम्भावना अझै भएको कुरामा कृषि विशेषज्ञको दुइ मत छैन । तोरीदेखि स्याउ फलाउने ठाउँमा किसानलाई प्रोत्साहित गर्ने खालका योजना भने आएका छैनन् । चितवनमा तोरी नहुँदा माहुरी पाल्ने किसानहरुले माहुरी चराउन अन्यत्र जिल्ला धाउनुपर्ने वाध्यता छ ।  
कृष्णप्रसाद अधिकारी चितवनका उद्यमी हुन् । उनले धेरै उद्योग चलाएका छन् । साथै कृषिको क्षेत्रमा चितवनलाई हेर्ने दृष्टिकोण पनि भिन्नै खालको छ, उनको । चितवन यसै हरेक कुराले देशको ७६ औं जिल्लाको रुपमा चिनिन्छ । तै पनि अधिकारी थप्छन्,‘नेपालका ७४ जिल्लालाई एकातिर र चितवनलाई अर्कोतिर राखेर तराजुमा राख्ने हो भने कृषि र उद्यमको क्षेत्रको रुपमा चितवनकै पल्ला भारी हुन्छ ।’ उनको यो विश्लेषण निकै घतलाग्दो छ । हुनपनि अहिले यहाँ माछापालन, केराखेती, बंगुरपालनदेखि नयाँ कृषिका उत्पादनले बजार लिएको छ । चितवनमै रहेको चित्रवन मिल्कका कारण धेरैको गाइपालन पनि फष्टाएको छ । पोल्ट्रीका क्षेत्रमा त चितवन देशकै राजधानी भैहाल्यो ।
कृषिको यत्रो सम्भावना बोकेर पनि चितवनमा यसको प्रवद्र्धनका लागि राज्यबाट खासै कदम भने चालिएको छैन । हुन त सबै कुरा राज्यबाट अपेक्षा गर्नुपनि हुँदैन । तैपनि राज्यले किसानको अभिभावक बनेर काम गराइलाई मलजल दिएमा धेरैको जीवनस्तर अगाडि बढ्न सक्ने कुरामा कृषिमा लागेका अभियन्ताहरु बताउँछन् । चितवनको रामपुरमै ‘कृषि तषा पशु विज्ञान अध्ययन संस्थान’ छ । भविष्यमा कृषि क्षेत्रमा लाग्ने र लाग्न चाहनेहरुले कृषि क्याम्पस भएकै नाताले उसबाट धेरै अपेक्षा राखेका हुन्छन् । तर विडम्बना रामपुर कृषि क्याम्पस नजिकै राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र भएर पनि नजिकैका मकैबारीमा फलेका मकैका घोंगामा दाना हुँदैनन् । भएका पनि थोता हुन्छन् । अनि मकै खेती गर्छु भनेर कस्सिएको किसानले कसरी आगामी दिनमा मकै लगाउला ? 
कान्दाको माटोमा च्याउ फल्ने बारेमा थाहा पाउन हुम्लाबाट प्राविधिक ल्याउनुप¥यो । आफ्नो बारीमा कुन अन्न बाली राम्रो हुन्छ भन्ने बारे अझै धेरै किसान अनविज्ञ छन् । जग्गाजमीन नभएकाहरु त यसै किसानी काम नगर्ने भए  । तर प्रशस्त जग्गा जमीन भएकाहरु समेत यो अज्ञानताका कारण खेतबारी बाँझै राखेर बसेका छन् । यो कुरा बुझाइदिने समेत कोहि भएन । कसैको लहैलहैमा लागेर एउटा बाली लगायो, तरिका नजान्दा जमीन र जाँगर खेर गएको अनुभव पनि छ, धेरै किसानको । अहिले चाहिँ नीजि स्तरबाट खोलिएका कृषि सम्बन्धि संघसंस्थाले बरु कृषिमा काम गरिरहेका छन् । 
राज्यले गर्नुपर्ने काम नीजि स्तरबाट सञ्चालन गर्नु झनै राम्रो हो, त्यो पनि उच्च व्यवस्थापनका साथ । किसानकै लागि भनेर यस्तै काम गरेको छ, चितवनको किसान कल सेण्टरले । आफ्नो जग्गामा कुन अन्नबाली लगाउँदा राम्रो हुन्छ भनेर जान्न जग्गाको माटो सेण्टरमा लगेर दियो भने उसले सुझाव दिन्छ,–यो अन्नबाली यसरी लगाउनुस् । बीचमा कुनै अफ्ठ्यारो प¥यो भने १६६०–५६५२–९९९ मा फोन गर्नुस् । फोन गरेको पैसा लाग्दैन । सेवा, सल्लाह र सुझाव पनि हामी निशुल्क दिन्छौं ।’ यो किसान कल सेण्टरमा किसानलाई आइपर्ने समस्या समाधान गर्न कृषि प्राविधिकहरु बसिरहेका छन् । देशभरका किसानहरुले फोन गरेरै भएपनि यो सेण्टरबाट फाइदा लिएको बताईन्छ । एग्रिकेयरले सुरु गरेको किसान कल सेण्टरले चितवनमा लोकप्रियता पाइसकेको छ । जहाँ दैनिक २ सयको हाराहारीमा किसानले फोन गरेर आफ्नो समस्याको समाधान खोज्ने गरेका छन् । 
अहिले नेपालमा केहि सम्भावना नदेखेर प्रतिभा पलायन तिब्र रुपमा बढेको छ । राजनीतिक अस्थिरताले देश उथलपुथल छ । भएको एउटा कृषि क्याम्पसले राम्रो शिक्षा दिन सकेको छैन । राजनीतिक रंगले क्याम्पसलाई अस्तव्यस्त पार्दा कृषि क्षेत्रमा लाग्न चाहने नेपालीहरुलाई ठेस लागेको छ । कृषि क्रान्ति भन्दा राजनीतिक क्रान्तिबारे क्याम्पसमा चर्चा बढि हुन्छ । विद्यार्थीहरु मारमुंग्रीमा बढि उत्रन्छन् । यस्तो भएपछि आम किसानले यसबाट के अपेक्षा गर्ने ? यसैले पनि नीजि स्तरबाट खुलेका कृषि सम्बन्धि संघसंस्थाहरुको भर पर्नुपर्ने वाध्यता चितवनका किसानलाई रहँदै आएको छ । अब चितवनका किसानहरुको स्तरोन्नतीका लागि रामपुर क्याम्पसले सोँच्नैपर्ने भएको छ । 
नयाँ उन्नत जातको खोजी गरी आधुनिक र वैज्ञानिक विधिले खेती गर्न किसानलाई अब पनि सघाइएन भने चितवनको कृषिमा अहिले देखिएको सम्भावना सेलाएर जानेछ । यसो हुँदा प्रतिभा पलायन फस्टाउँछ । साँच्चै कृषिलाई सरकारले महत्व दिने हो भने प्राविधिक र वैज्ञानिकको माग उच्च र कृषिप्रति धेरै उत्साही युवालाई कृषि क्षेत्रमा अझ आकर्षित गर्न सकिन्छ । कृषि पढेपछि माटोमै खेल्न चाहने आँटिला प्राविधिकले व्यावसायिक तरकारी खेती, पशुपालनलगायत आधुनिक र्फम खोलेर कयौं बेरोजगार युवालाई देशमै रोजगारी दिन सक्छन् । धेरै मानिस गैरकृषि पेसातिर मात्रै जाने हो भने खाने मुख बढ्छ र काम गर्ने हात घट्छ । यसैले माटोमा पसिना चुहाउन चाहने उत्साही युवाका लागि कृषिकर्म सही बाटो हो । कृषिको यो आवश्यकतालाई चितवनले सम्भावनाको बाटो खोलिदिएको छ । 
चितवनको माडी उपत्यकामा चार गाविस छन् । जसलाई वरीपरि पहाडले घेरेको छ । कुनैबेला सिंगो चितवन माडीकै उत्पादन खाएर बाँच्थ्यो । तर अहिले अवस्था फेरिएको छ । माडीमा अधिकांश माछा पोखरी बनेका छन् । धान, मकै र तरकारी फलाउने ठाउँमा कि त प्लटिंग बनेको छ , कि माछा पोखरी । हुँदाहुँदा माडीले समेत तरकारीका लागि अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था आएको छ । ‘एकाविहानै माडी जाने बसमा छतभरि तरकारीका बोरा देख्न सकिन्छ ।’ माडी किर्तनपुरका शिव सुवेदीको गुनासो छ । माछापालन कृषिकै एउटा उपज भएपनि सबैले एउटै पेशा अँगाल्दा सफल बन्न नसकेका उदाहरण पनि छन् । सुवेदी भन्छन्,‘आवश्यकता र सम्भावना हेरेर मात्रै किसानले कृषि कर्ममा हात हाल्नु राम्रो हुन्छ ।’ चितवनका किसानले लिएको कृषिको सम्भावनालाई राज्यले आवश्यकता सम्झेर सहयोग गरेमा देशको अर्थतन्त्र र कृषिकर्मले नयाँ बाटो लिनेमा आम चितवनवासीहरु ढुक्क छन् । अब भने व्यवसायिक कृषिका लागि चितवनले छुट्टै चिनारी दिनुपर्ने भएको छ । विषालु च्याउ खाने चेपाङलाई रसिलो स्याउले व्यवसायिक बनाउन सके व्यवसायिक कृषिमा चितवनले नयाँ चिनारी दिनेछ ।
२०७० साउन ९ गते बुधबार प्रकाशित चितवन पोष्ट दैनिकको अभिमतबाट

Wednesday, July 7, 2010

घट्न थाल्यो नेपालमा जग्गाको भाउ

बालकृष्ण ज्ञवाली, काठमाडौं, असार २२ - लामो समयसम्म मूल्य नबढेको अवस्थामा बैंकहरुले ऋण तिर्न ताकेता गरेपछि काठमाडौं उपत्यकाका अधिकांश व्यवसायीले घरजग्गा बिक्रीमा राखेका छन्। आर्थिक वर्षको अन्तमा बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा दबाब दिन थालेपछि रियलस्टेट व्यवसायी र कतिपय व्यक्तिले घरजग्गा बेच्न बिक्रीमा राखेका हुन्। 
‘विगतमा भन्दा अहिले घरजग्गा बेच्ने करिव ४० प्रतिशतले बढेका छन्,' पञ्चकन्या रियलस्टेटका श्रीप्रसाद कडरियाले भने ‘किन्नेभन्दा बेच्ने व्यक्ति धेरै छन्। कतिपयले मुल्य घटेर पनि बेचिदिन आग्रह गर्छन्।' उनले बैंक तथा वित्तिय संस्थाले कर्जा असुलीमा कडाइ गर्न थालेकाले घरजग्गा बेच्न हतारिने संख्या धेरै भएको बताए।
बैंकबाट ठूलो कर्जा लिएर जग्गा प्लटिङ गर्ने व्यवसायी र तत्काल नाफा हुने अनुमानमा ऋण लिएर प्लटिङ वा अन्य घरजग्गा किन्ने व्यक्ति अहिले समस्यामा छन्, कडरियाले भने।
‘लामो समयदेखि घरजग्गाको मूल्य बढेको छैन,' उल्टै बैंक ऋण बढेको छ,' बसुन्धाराका जग्गा व्यवसायी नरेश खड्काले भने ‘नाफा गर्ने उद्देश्यले ऋण लिएर किनेको जग्गा नबेचेर के गर्नु?।'
उनले प्रत्येक दिन बैंकको ब्याज बढिरहेको तर, जग्गाको भाउ घट्न थालेकाले समस्या परेको बताए। उनले एक महिनाअगाडि देखि बैंकले ताकेता गर्न थालेपछि जग्गा बेच्न पत्रपत्रिकामा विज्ञापन दिएको र आफुजस्तै व्यवसायीलाई भनेको नागरिकलाई बताए।
अर्कोतिर घरजग्गामा बैंकको ब्याज उच्च भएकाले पनि व्यवसायीहरु चाँडो ऋण तिर्न चाहन्छन्। जग्गाको भाउ नबढेको अवस्थामा ब्याज तिर्न पनि कतिपयलाई समस्या परेको छ। पहिले ११ प्रतिशतसम्ममा पाइनेमा कर्जा अहिले बढेर १७ प्रतिशतसम्म पुगेको छ।
बैंकको निर्देशनपछि प्रत्येक महिना कारोबार शिथिल भइरहेकाले चाँडै नै कारोबारमा सुधार आउन नसक्ने अनुमान व्यवसायीहरुको छ। गत मंसिरको तुलनामा उपत्यकामा यसको कारोबार ७५ प्रतिशतले घटेको छ। २०५२ सालपछि यो कारोबारमा धेरै व्यवसायी फसेको घटनाले पनि तत्काल जग्गा बेचेर ऋण मुक्त हुन चाहनेको संख्या धेरै छ। ०५२ सालपछि घरजग्गा व्यवसायमा आएको मन्दीले धेरै व्यवसायी टाट पल्टेका थिए।
घरजग्गाको मुल्य बढ्न रोकिएकाले जतिसक्दो छिटो यो क्षेत्रको लगानी असुली गर्ने प्रयासमा रहेको वाणिज्य बैंकका अधिकारीहरु बताउँछन्।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले घरजग्गामा दिएको कर्जा असुलीका लागि सबै शाखा प्रमुखहरुलाई निर्देशन दिएको बताए। ‘यो आवमा करिव ९० प्रतिशत लगानी असुली हुने हाम्रो अनुमान छ,' भण्डारीले भने।
करिव तीन चार वर्षदेखि घरजग्गाको मुल्य चुलिदै आएपछि बैंकबाट कर्जा लिएर लगानी गर्ने बढेका थिए। केहि रकम लगानी गरेर बाँकी बैंकबाट कर्जा लिइ जग्गा प्लटिङ गर्ने व्यवसाय पनि चुलिएको थियो। बैंकहरुले पनि यो क्षेत्रमा जथाभावी लगानी गरिरहेका थिए।
वाणिज्य बैंकहरुले मात्र हाउजिङ र रियलस्टेटमा पुस मसान्तसम्म ८५ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेका छन्। घरजग्गाको लगानीले भविष्यमा समस्या पर्ने संकेत देखा परेपछि राष्ट्र बैंकले यो क्षेत्रमा कर्जाको सीमा तोकेको थियो।
बैंकले गत पुसमा हाउजिङ र रियलस्टेट कर्जामा यस वर्ष कुल कर्जाको ४० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने गरी सीमा तोकेको थियो। आगामी वर्ष यसलाई ३० र अर्को वर्ष २५ प्रतिशतमा झार्नुपर्नेछ।
बैंकहरुलाई यो वर्ष कर्जाको सीमामा झार्न पुरानो कर्जा उठाउनुपर्ने समस्या छ। यसैले व्यवसायीलाई कर्जा असुलीका लागि दबाब दिन बैंकहरु पनि बाध्य छन्।
हाउजिङ र रियलस्टेटको कर्जा नउठेमा बैंकहरुले ठूलो रकम संभावित नोक्सानी ‘प्रोभिजन' का लागि छुट्टाउनु पर्नेछ। यसले बैंकहरुको नाफामा असर पार्नेछ।
दिनहुँ कारोबार घटेकाले मूल्यमा पर्ने चापका कारण पनि बैंकहरु यो क्षेत्रको लगानी जतिसक्दो चाँडो असुली गर्न चाहन्छन्।
बैंकले दिने सजिलो कर्जाका कारण घरजग्गा कारोबार व्यावसायिक रुपमा बढेको थियो। यसमा गरेको लगानीले छोटो समयमा बढी नाफा दिएपछि धेरैले बैंकबाट कर्जा लिई लगानी गरेका थिए।
पहिले जग्गाको बजार मूल्यको ८० प्रतिशतसम्म बैंकले लगानी गर्दै आएका थिए। अहिले सकेसम्म कर्जा दिन खोज्दैनन्।
उपत्यकाका पाँच मालपोत कार्यालयहरुले गत जेठमा घरजग्गा कारोबारबाट ११ करोड रुपैयाँ मात्र राजस्व उठाएका छन्। गत मंसिरमा पाँच मालपोतले ४४ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए।
जेठमा उठाएको राजस्व राष्ट्र बैंकको निर्देशन आउनुअघिको डिल्लीबजार मालपोत कार्यालय एक्लैले उठाएकोभन्दा ६ करोड रुपैयाँ कम हो।
सरकारले यो वर्ष रजिष्ट्रेसनबाट ६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। अहिलेसम्मको अवस्थालाई हेर्दा लक्ष्य पूरा हुने देखिदैन। जेठसम्म रजिष्टे्रसनबाट ४ अर्ब रुपैयाँभन्दा केहि बढी मात्र उठेको छ।
http://nagariknews.com/economy/industries/15329-2010-07-06-03-53-01.html

Monday, December 7, 2009

वैठक नेपालमा, चिनारी विश्वमा

शिला पाण्डे

काठमाडौ, २०६६ मंसिर २२ - यो साता नेपाल विश्वमै चर्चामा आयो । माओवादी जनयुद्ध, आन्दोलनलगायत द्वन्द्वका कारण समाचार बन्ने गरेको यो मुलुक अहिले चर्चामा आउनुको कारण थियो सगरमाथाको फेदमा बसेको मन्त्रिपरिषद बैठक । यसलाई एकैचोटि एक सयभन्दा बढी श्रव्यदृश्य सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारणमार्फत विश्वमाझ पुर्‍याएका थिए । बैठकको विश्वभरिका साना ठूला गरी १ लाख ७ हजार सञ्चारमाध्यमले स्थान दिएको व्यवसायीको दाबी छ ।
कोपनहेगनमा हुने अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनको एक साताअघि विश्वव्यापी तापमानका कारण हिमाल फुट्ने खतरा बढेको भन्दै विश्वको धानाकर्षण गराउन सरकारले सोलुखुम्बुको कालापत्थरमा मन्त्रिपरिषद बैठक गरेको हो । यसले नेपाल र सगरमाथालाई फेरि एकपटक विश्वभरका मानिसको मस्तिष्कमा ताजा बनाएको पर्यटनसम्बद्ध व्यक्तिहरूको भनाइ छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले भने, 'यसले नेपाली पर्यटनमा पनि ठूलो सघाउ पुगेको छ । आगामी दिनमा यसको असर देख्न पाइन्छ ।' जलवायु परिवर्तन सम्मेलनले पनि यसमा थप प्रभाव पार्ने उनले बताए ।
करिब ११ वर्षपछि नेपाललाई एकैचोटि ठूलो संख्याका सञ्चारमाध्यमले प्रसारण गरेका हुन् । 'नेपाल र चीन दुवैतर्फबाट एकैचोटि सगरमाथा चुचुरोमा पुग्ने अभियानको त्यतिबेला धेरै प्रचारप्रसार भएको थियो,' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाटा) का अध्यक्ष रामकाजी कोनेले भने, 'त्यो प्रचारसमेत अहिलेको जति थिएन ।'
नेपाल टेलिभिजनको नेटवर्किङमा रहेका ८४ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । बिबिसी, सिएनएन, रोयर्टस, एएफपीलगायत सञ्चारमाध्यमले आफ्नै क्यामेराम्यानमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए । त्यस्तै राष्ट्रिय टेलिभिजन र पत्रपत्रिकाका प्रतिनिधिले बैठकस्थल पुगेर समाचार संकलन गरेका थिए । 'नेपाल त्यसै पनि चर्चित थियो,' कोनेले भने, 'यसले सुनमा सुगन्ध थपेको छ ।'
नामै नसुनेकाले पनि नेपालबारे प्रत्यक्ष प्रसारणका कारण थाहा पाएको एसियन पर्वतारोहण महासंघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए । 'यसले पर्यटन वर्षलाई पनि सकारात्मक प्रभाव पारेको छ,' उनले भने । मुलुकको पर्यटन प्रकृतिमै भर परेकाले जलवायु परिवर्तनको विषयमा सरकारले गरेको प्रयास अर्थपूर्ण बनेको उनले बताए ।
ट्रेकिङ एजेन्टस एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष ज्योति अधिकारीले पर्वतारोहणका कारण नेपाल र यहाँको हिमालयको नियमित प्रचारप्रसार भइरेहकाले बैठक प्रसंगले पर्यटक आगमनमा खासै प्रभाव नपार्ने बताए । 'जलवायु परिवर्तनबारे सरकारको चासोलाई विश्वले बुझेको छ । यो राम्रो पक्ष हो,' अधिकारीले भने, 'तर पर्यटन वर्ष र पर्यटक संख्यामा यसले प्रभाव पर्दैन ।' मन्त्रिपरिषद सदस्यले हाइकिङ गरेर पर्यटन प्रवर्द्धन गनुपर्ने उनको भनाइ छ । आगामी दिनमा साहसिक पर्यटन र पदयात्रामा नेपालको प्रचारको राम्रो प्रभाव देखिनेमा टानका अध्यक्ष सीताराम सापकोटा विश्वस्त छन् ।
'बन्द हडताल नहुने हो भने यसले आउँदो मौसममा पदयात्रा र साहसिक पर्यटक संख्या बढाउने छ,' उनले भने, 'तत्काल उपलब्धि नदेखिए पनि यसले फेरि एकपटक नेपाललाई विश्वसामु परिचित गराउन सफल भएको छ ।'

http://www.ekantipur.com/np/news/news-detail.php?news_id=303102